भन्सार निर्णयप्रति रास्वपा सांसद असन्तुष्ट, पुनर्विचारको माग

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख ६ गते ।  भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णयप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरूले यो निर्णयले सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई सास्ती दिएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन्।

यस विषयमा सांसदहरू गृहमन्त्री सुधन गुरुङ सँग भेटेर समस्या राखेका छन्। सिरहा–४ का सांसद तपेश्वर यादव ले नेपाल–भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई ध्यानमा राख्दै यस्तो कडा निर्णयले सर्वसाधारण मारमा परेको बताएका छन्। उनले तस्करी नियन्त्रण आवश्यक भए पनि व्यक्तिगत प्रयोजनका सामान ल्याउने नागरिकलाई दुःख दिनु उचित नभएको धारणा राखे।

त्यसैगरी सिरहा–२ का सांसद शिवशंकर यादव ले पनि सीमामा नागरिकले भोगिरहेको सास्तीबारे गृहमन्त्रीसमक्ष गुनासो गरेका छन्। तस्करी नियन्त्रणको प्रयास सकारात्मक भए पनि सबैलाई एउटै मापदण्ड लागू गर्दा आम नागरिक समस्यामा परेको उनको भनाइ छ। उनले सीमामा सहज वातावरण बनाउन तत्काल समाधान खोज्न सरकारसँग माग गरेका छन्।

यसैबीच, निर्णयको विरोधमा मधेशका युवाहरूले काठमाडौँस्थित माइतीघर मण्डला मा प्रदर्शनसमेत गरेका छन्। उनीहरूले उक्त प्रावधान तत्काल खारेज गर्न माग गर्दै सरकारको निर्णयले मधेशलाई दीर्घकालीन रूपमा असर पार्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?