धनुषाको ढल्केबरमा जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा भीषण आगलागी
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ४ गते । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति करिब १० बजे भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिन पूर्ण रूपमा प्रयोग गर्न नसकिने गरी क्षतिग्रस्त भएका छन् । उद्योगका प्रबन्धक सन्जय गुप्ताका अनुसार प्रारम्भिक अनुमानमा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको यकिन विवरण संकलन गर्न भने अझै दुई–तीन दिन लाग्ने बताइएको छ ।
जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट खटिएका पाँच वटा दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण अझै खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस्
view comments