धनुषामा सेवा प्रवाह प्रभावकारी बनाउन सांसद मनिष झाको नयाँ कदम

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३ गते ।  धनुषा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सर्वसाधारण नागरिकहरूलाई सहज सेवा प्रवाह गर्न प्रतिनिधि सभा सदस्य मनिष झा ले नयाँ पहल सुरु गरेका छन् ।

धनुषा–३ बाट निर्वाचित सांसद झाले सेवाग्राही र सेवाप्रदायकबीचको दूरी घटाउने तथा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले सहजीकरण कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । प्रत्येक महिनाको पहिलो सातामा उनी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा प्रत्यक्ष उपस्थित भएर नागरिकका गुनासा सुन्ने, समस्या पहिचान गर्ने र तत्काल समाधानका लागि सम्बन्धित अधिकारीसँग समन्वय गर्ने कार्य थालेका छन् ।

नागरिकता, राहदानी, शान्ति सुरक्षा, निवेदन दर्ता लगायतका विषयमा देखिने झन्झट, ढिलासुस्ती र सूचनाको अभावलाई कम गर्न यो पहल प्रभावकारी हुने विश्वास गरिएको छ । सांसद झाले भने, “जनताले सहज र सम्मानजनक सेवा पाउनुपर्छ भन्ने हाम्रो मुख्य लक्ष्य हो । सरकारी कार्यालयप्रति नागरिकको विश्वास बढाउन प्रत्यक्ष सहजीकरण आवश्यक छ ।”

जिल्ला प्रशासन र प्रहरी कार्यालयका प्रमुखहरूले पनि यस पहललाई सकारात्मक मानेका छन् । सांसद झाले आगामी दिनमा यो अभियानलाई थप प्रभावकारी बनाउँदै अन्य सरकारी निकायमा पनि विस्तार गर्ने योजना रहेको बताएका छन् ।

यो पहलले विशेष गरी ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?