इरानमा नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

2 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख ३ गते ।  इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनी आज बुधबार इरानबाट रिहा भएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिएका छन् । परराष्ट्र मन्त्री खनालले भने, “उहाँ रिहा हुनुभएको छ । इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भइसकेको छ ।” अमृत झाको परिवारलाई पनि सरकारी अधिकारीहरूले रिहाईको जानकारी गराइसकेका छन् । उनका भिनाजु राजेश झाले केहीबेर अघि मात्रै सरकारी अधिकारीबाट यो खबर प्राप्त गरेको बताएका छन् ।

अमृत झा इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनुअघि इन्धन ल्याउने जहाजमा क्याप्टेनको रूपमा काम गर्दै थिए । दुबईको ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को पानी जहाजमा कार्यरत उनलाई तेल लिएर दुबई फर्किने क्रममा इरानले नियन्त्रणमा लिएको थियो । उनी दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।

उनीसँगै केही भारतीय नागरिक पनि इरानले पक्राउ गरेको थियो । अमृत झाको रिहाईपछि परिवारले ठूलो राहत महसुस गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?