प्रधानमन्त्री बालेन्द्र शाह टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिमा
2 दिन पहिले प्रकाशित
काठमाडौं, बैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनको सन् २०२६ को ‘१०० प्रभावशाली व्यक्ति’ को सूचीमा परेका छन् ।
३५ वर्षीय बालेन फागुन २१ मा सम्पन्न निर्वाचनमा युवाहरूको व्यापक समर्थन र जनआन्दोलनको प्रभावका कारण प्रधानमन्त्री बन्न सफल भएका थिए । टाइम म्यागजिनले उनको उदयलाई ‘युवाहरूको राजनीतिक परिवर्तनको लहर’ को रूपमा चित्रण गरेको छ ।
टाइमका एडिटर-एट-लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा बालेनलाई परम्परागत तथा वंशवादी राजनीतिप्रति असन्तुष्ट युवा पुस्ताको प्रतिनिधिका रूपमा उल्लेख गरिएको छ । हिप-हप कलाकारबाट काठमाडौं महानगरपालिकाको मेयर हुँदै प्रधानमन्त्री बनेका शाहले स्थानीय तहमा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको टाइमले उल्लेख गरेको छ ।
भ्रष्टाचारविरुद्धको कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि उनी युवामाझ लोकप्रिय रहेको जनाइएको छ । यद्यपि, आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीका बीच राष्ट्रिय स्तरमा उनको कार्यशैली कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न भने अझै कायम रहेको टाइम म्यागजिनले उल्लेख गरेको छ ।
यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वभरका २४ जना नेताहरू परेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments