धनुषामा पूर्व वडाध्यक्ष प्रदिप महतो मृत फेला
6 दिन पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ३ गते । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा फेला परेका छन् । गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बर पुलमा बुधबार राति ११ बजे उनको शव भेटिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
शव भेटिएको ठाउँमा १०/१२ वटा बियरका खाली बोतलसहित अन्य मादक पदार्थका बोतलहरू पनि फेला परेका छन् । प्रारम्भिक अनुसन्धानका अनुसार महतोसहित ८/९ जनाको समूहले सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा रहेका अन्य व्यक्ति सबै फरार छन् भने प्रहरीलाई प्रारम्भिक सूचना दिने व्यक्ति पनि सम्पर्कविहीन रहेको प्रहरी निरीक्षक विजय दत्तले बताएका छन् ।
मृतक प्रदिप महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए । शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । प्रहरीले मृत्युको कारण पत्ता लगाउन तथा फरार व्यक्तिहरूको खोजी तीव्र बनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments