मधेसमा जुडशीतल पर्व : नयाँ वर्ष २०८३ को शुभारम्भसँगै हर्षोल्लास
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १ गते । विक्रम सम्वत् २०८३ को प्रारम्भसँगै मिथिला क्षेत्रमा **जुडशीतल पर्व** हर्षोल्लासका साथ मनाइँदैछ । वैशाख १ गतेदेखि दुई दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ ।
महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णका अनुसार बढ्दो गर्मीमा जीवनमा शीतलता ल्याउने कामनासाथ यो पर्व मनाउने परम्परा छ । पहिलो दिन सातथरि खाद्यान्नको सातु र माटोको अंखरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाइन्छ र ब्राह्मण, कुलपुरोहित तथा साधुलाई दान गरिन्छ । दोस्रो दिन घरका ज्येष्ठ सदस्यले सानालाई शिरमा जल सिञ्चन गर्दै आरोग्यता, शीतलता र दीर्घायुको आशीर्वाद दिन्छन् ।
यो पर्वमा चना, बदाम, जौ, मुँगका परिकार, दहीको कढी, बरी आदि खाने र एकअर्कामा धुलो–हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । मिथिला संस्कृतिका ज्ञाता ध्रुव रायका अनुसार यो पर्वले सहकाल, राम्रो वर्षा र कृषिप्रतिको लगावको सन्देश दिन्छ । ‘कृषि मूलश्च जीवनम्’ भन्ने भावलाई जोड्दै यो पर्वले आपसी सद्भाव र सहकार्यको महत्व पनि सिकाउँछ ।
मिथिला क्षेत्रका विभिन्न जिल्ला तथा भारतको सीतामढी, झञ्झारपुर लगायत ठाउँमा यो पर्व उल्लासपूर्वक मनाइन्छ ।
कमेन्ट गर्नुहोस्
view comments