सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ३० गते । नयाँ वर्षको अवसरमा हरेक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल **सलहेश फूलबारी मेला** मा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको छ ।
लहान नगरपालिका–१२ र २२ मा रहेको सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको **सुनाखरी फूल** अवलोकन गर्न र पूजाअर्चना गर्न नेपाल तथा भारतका विभिन्न ठाउँबाट हजारौँ श्रद्धालु आउने गर्छन् । मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु भएको छ, तर पूर्ण रूपमा फक्रिन बाँकी छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको छ ।
श्रद्धालुहरू दिनरात रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो भक्तजन र पर्यटकको संख्या अनुसार धर्मशाला र अन्य पूर्वाधारको अभाव खड्किएको स्थानीयहरूले गुनासो गरेका छन् । लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा यस फूलबारी र सुनाखरी फूललाई मानिन्छ । पासवान समुदायले सलहेशलाई इष्टदेव मान्ने गर्छन् ।
सरकारले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यमा समावेश गरे पनि ठोस विकास नभएको सरोकारवालाहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments