दिग्गज बलिउड गायिका आशा भोसले अस्पताल भर्ना

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र २९ गते ।  बलिउडकी सदाबहार गायिका **आशा भोसले** बिरामी भएपछि अस्पताल भर्ना भएकी छन् । ९२ वर्षीया आशा भोसलेलाई शनिबार साँझ मुम्बईको **ब्रीच क्यान्डी अस्पताल** मा भर्ना गरिएको हो ।

उनलाई अत्यधिक थकान र छातीमा संक्रमण भएका कारण अस्पताल लगिएको हो । केही रिपोर्टमा हृदयघात भएको उल्लेख भए पनि उनकी नातिनी **जनाई भोसले** ले इन्स्टाग्राममा पोस्ट गर्दै थकान र छातीको संक्रमण नै मुख्य कारण रहेको बताएकी छन् । उनले लेखेकी छन्, “मेरी हजुरआमा आशा भोसले अत्यधिक थकान र छातीमा संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ । उहाँ उपचार गराइरहनुभएको छ र हामी चाँडै खुशीको खबर ल्याउने आशा गर्दछौँ ।”

आशा भोसलेले आफ्नो लामो करियरमा **१२ हजारभन्दा बढी** गीत गाएकी छन् । “दम मारो दम”, “पिया तू अब तो आजा”, “चुरा लिया है तुमने” जस्ता उनका गीतहरू अझै लोकप्रिय छन् । उनी दीनानाथ मंगेशकरकी छोरी र लता मंगेशकरकी कान्छी बहिनी हुन् ।

नेपाली संगीतप्रेमीहरूका लागि पनि आशा भोसले स्मरणीय छन् । उनले ‘झरी बनी आएछ सावन’, ‘मायालु तिमीलाई सम्झेर’, ‘यो मुटु भित्र’, ‘सपनीमा देखेँ तिमीलाई’ जस्ता नेपाली गीतहरू गाएकी छन् । गत वर्ष ९२ वर्षको उमेरमा नै रन्जित गजमेरको संगीतमा ‘यो हाम्रो माया’ गीतमा स्वर दिएकी थिइन् ।

उनको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने कामना गरिएको छ । अस्पतालले उनको अवस्थाबारे थप जानकारी दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?