भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिए
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २९ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लाई भारतको औपचारिक भ्रमणको निमन्त्रणा पठाएका छन् । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल ले यो जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई टेलिफोन गरी बधाई दिएका थिए । सोही बधाई सन्देशका क्रममा मोदीले बालेन शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन् । भ्रमणको मिति भने अझै तय भइसकेको छैन ।
मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकर सँगको पहिलो भेटमा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए । नयाँ सरकार गठन भएको मात्र दुई हप्ता भएकोले आन्तरिक प्राथमिकता तयार पारिरहेको जानकारी भारतीय पक्षलाई दिइएको उनले बताए । नेपाल–भारतबीच झण्डै ४० वटा द्विपक्षीय संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रमार्फत नै सम्बन्ध अघि बढाउने र प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय पनि यही संयन्त्रले निर्धारण गर्ने बताएका छन् ।
नयाँ सरकारले परराष्ट्र नीतिमा निरन्तरता दिने स्पष्ट गर्दै मन्त्री खनालले नेपालको संविधानले निर्दिष्ट गरेको क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीतिलाई नै आधार बनाएर छिमेकी तथा विश्वका साझेदारसँग सम्बन्धलाई राष्ट्रिय हित र आर्थिक विकाससँग जोडेर अघि बढाउने नीति रहेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments