श्रममन्त्री दीपककुमार साह पदमुक्त
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गरेको हो।
मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको विषयलाई लिएर रास्वपाको केन्द्रीय अनुशासन आयोगले पार्टी सभापति रवि लामिछानेसमक्ष कारबाहीको सिफारिस गरेको थियो। यस गतिविधिले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच पुगेको निष्कर्ष निकाल्दै रास्वपाले साहलाई जिम्मेवारीबाट फिर्ता बोलाएको हो। पार्टी विधानको धारा २५ (४) (क) र धारा ६९ अनुसार ‘राइट टु रिकल’ को व्यवस्था प्रयोग गर्दै यो निर्णय गरिएको छ।
यसैगरी, यस्तो गम्भीर विषयमा पर्याप्त गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई सचेत गराएका छन्।
यो रास्वपाको मन्त्रीहरूलाई जुनसुकै बेला फिर्ता बोलाउने नीतिको पहिलो व्यावहारिक कार्यान्वयन हो।
कमेन्ट गर्नुहोस्
view comments