श्रम मन्त्री दीपककुमार साहलाई हटाउने प्रधानमन्त्री बालेन्द्र शाहको तयारी
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत २६ गते । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। विवादमा मुछिएका र काम गर्ने शैली चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री शाहले उनलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने सोच बनाएको स्रोतले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई मन्त्री बनाउँदा जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नीति अनुसार यो तयारी भएको हो। महोत्तरी-२ बाट फागुन २१ मा निर्वाचित साह १३ चैतमा मन्त्री नियुक्त भएका थिए। मन्त्री बनेको मात्र १४ दिनमा उनलाई हटाउने चर्चा चलेको छ। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार छोटो अवधिमा केही लोकप्रिय काम गर्न खोजे पनि श्रम मन्त्रालयमा अर्को व्यक्ति ल्याउने निर्णयमा पुगेको बताइएको छ। तर, औपचारिक निर्णय भने अझै भएको छैन।
दीपककुमार साह लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा पिएचडी स्कलर, लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थ र अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments