बर्दीबास उद्योग वाणिज्य संघमा कार्की प्यानलको क्लिन स्वीप

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २६ गते ।बर्दीबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनमा दीपकबहादुर कार्की नेतृत्वको प्यानल विजयी भएको छ। अध्यक्ष पदमा कार्कीले प्रतिद्वन्द्वी उत्तम श्रेष्ठलाई २७१ मतको अन्तरले पराजित गर्दै जित हात पार्नुभएको हो। कार्कीले ८२८ मत प्राप्त गर्दा श्रेष्ठले ५५७ मत ल्याउनुभएको थियो।

१७ सदस्यीय कार्यसमितिका सबै पदमा कार्की प्यानलकै उम्मेदवार विजयी भएका छन्। प्रथम उपाध्यक्षमा रञ्जितराज ढुंगाना, द्वितीय उपाध्यक्षमा रामनाथ साह, महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आले, महासचिवमा केदार गौतम, सचिवमा रिमनाथ अधिकारी, कोषाध्यक्षमा सुरेन्द्रराज लामा र सहकोषाध्यक्षमा संगमकुमारी आले निर्वाचित भएका छन्।

मधेस प्रदेशका चर्चित स्वास्थ्य व्यवसायीसमेत रहेका कार्कीले व्यवसायिक एकता र दीर्घकालीन आर्थिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ। निर्वाचन अधिकृत विष्णु कार्कीका अनुसार १,६४० मतदातामध्ये १,४१६ मत खसेको थियो। यसपटक विजयी टोलीले विजय जुलुस ननिकाली शालीनता प्रदर्शन गरेको स्थानीयले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?