ओली र लेखक हाजिरी जमानीमा रिहा, आवश्यक पर्दा उपस्थित हुने सर्त

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २६ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई क्रमशः राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलमार्फत पत्र प्राप्त भएपछि रिहाइ गरिएको प्रहरीले जनाएको छ। गत भदौमा भएको ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोपमा चैत १४ गते उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउपछि स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका ओली सोही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई प्रहरी हिरासतमा राखिएको थियो।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनील पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि परमादेश जारी गर्दै थुनामुक्त हुने बाटो खुलाएको थियो। आदेशअनुसार अब उनीहरूलाई थप म्याद थप नगर्न भनिएको छ। यद्यपि, स्वास्थ्य उपचार जारी रहेकाले ओली केही दिनपछि मात्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?