मधेश प्रदेशमा गृहमन्त्रालयको निर्देशनपछि बिचौलियामाथि प्रहरीको व्यापक कारबाही: ३४ जना पक्राउ
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २४ गते । गृहमन्त्रालयको विशेष निर्देशनपश्चात् मधेश प्रदेशभरका विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूबाट ३४ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिएअनुसार, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क र सवारी चालक अनुमतिपत्र (ट्रायल सेन्टर) जस्ता क्षेत्रहरूमा सक्रिय बिचौलियाहरूमाथि यो कारबाही चलाइएको हो। यस अभियानले सेवाग्राहीहरूलाई अनावश्यक हैरानी र आर्थिक भार पार्ने बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गर्ने लक्ष्य लिएको छ।
पक्राउ पर्नेहरूमध्ये सर्लाहीको मालपोत कार्यालयबाट ७ जना र ट्रायल सेन्टरबाट २ जना गरी कुल ९ जना छन्। त्यस्तै, पर्साको वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयबाट ४ जना र मालपोत कार्यालयबाट ३ जना गरी ७ जना बिचौलिया पक्राउ परेका छन्। रौतहटबाट मालपोत कार्यालय, अदालत र बस पार्कबाट ६ जना, सप्तरीबाट ११ जना र सिरहाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश प्रहरी कार्यालयले पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments