एसईई दिएर फर्कंदै गरेका विद्यार्थी चढेका मोटरसाइकलमा आगलागी, तीनको ज्यान गयो
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र २४ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमा क्षेत्रमा मंगलबार भएको एक हृदयविदारक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) सकेर घर फर्किरहेका विद्यार्थी चढेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएपछि आगलागी भएको थियो। यस घटनामा परी एक छात्रा र दुई छात्रसहित तीन जनाको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन, किनकि शवहरू नचिनिने अवस्थामा छन्।
दुर्घटनाका घाइतेहरूलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर रेफर गरिएको छ। घटनाको जानकारी पाउने बित्तिकै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोली घटनास्थल पुगेका थिए र घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए। स्थानीय बासिन्दाहरूले यस क्षेत्रमा मोटरसाइकल ठोक्किएर आगलागी भई यति ठूलो मानवीय क्षति भएको घटना पहिलो पटक सुनेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले मृतक र घाइतेको पहिचान गर्ने कार्य जारी रहेको र जलेका मोटरसाइकलका कारण अनुसन्धानमा केही ढिलाइ भएको जानकारी दिए। दुवै मोटरसाइकलमा तीन-तीन जना विद्यार्थी सवार रहेको आशंका गरिएको छ, र मृतक तथा घाइते जलेश्वर वा एकडारा गाउँपालिकाको गेना बथनाहाका हुन सक्ने प्रारम्भिक अनुमान छ।
कमेन्ट गर्नुहोस्
view comments