सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसल नभई गुरूकुल र विश्वविद्यालय बनाउनुपर्ने बताए
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रतिनिधिसभालाई चौतारी वा चिया पसलको रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै झाले यसअघिका संसद् खुमलटार, बालुवाटार र बालकोटको बन्दी बनेको र संख्या मात्र गनिने गरेको बताए।
उनले भने, “यसअघिका सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बस्यो। संख्या मात्र गनियो। सिद्धान्त कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ।”
झाले अहिलेको संसद् दक्षिण एसियाकै उत्कृष्ट भएको उल्लेख गर्दै सदनमा जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने बताए। उनले थपे, “सदन चौतारी र चिया पसल होइन। जहाँ मन लाग्यो आउँछु, मन लाग्यो बोल्छु, मन लाग्यो बस्छु, मन नलागे जान्छु भन्ने होइन। सदन गुरूकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ। होमवर्क गरेर आउँछु। म प्रश्न, प्रस्ताव लिएर प्रस्तुतीको तयारी गरेर आउँछु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।”
भदौ २४ गतेको घटना स्मरण गर्दै उनले भने, “सदनले याद गर्नुपर्ने कुरा— यदि सदनमा जनताको प्रश्नको अस्तित्व भएन भने जनता नै छिर्छन्। बालुवाटार र राष्ट्रपति कार्यालयभन्दा पहिला जनताको सदनमा प्रस्तुति र उपस्थिति देखियो, यो सम्झनुहोला।”
आजको बैठकमा संसद्को पहिलो लहरका कुर्सीहरू प्रायः खाली थिए। सांसद झाको यो अभिव्यक्तिले नयाँ संसद्लाई सिद्धान्त र जनकेन्द्रित बनाउनुपर्नेमा जोड दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments