डीपी अर्यालको अध्यक्षतामा प्रतिनिधिसभा बैठक : कार्यव्यवस्था परामर्श समिति र नियमावली मस्यौदा समिति गठन

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २३ गते ।  सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि उनको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभा सञ्चालनका लागि आवश्यक पर्ने दुई समिति गठन गरेको छ। सोमबार सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकले प्रतिनिधिसभा कसरी सञ्चालन गर्ने र के-के कार्यसूची राख्ने भन्ने निर्धारण गर्ने कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ।

सभामा सभामुख अर्यालले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको जानकारी दिए। त्यो समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका छन्। बैठकले सभाको सञ्चालन नियमावलीको मस्यौदा समिति पनि सर्वसम्मतिले अनुमोदन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय समिति बनाइएको हो। समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ र आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ। समितिको कार्यअवधि १४ दिनको हुनेछ।

बैठकले गृहमन्त्री सुधन गुरुङले सभामा प्रस्तुत गरेका ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सभाबाट पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित भएको छ। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?