नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत १९ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ। रामचन्द्र पौडेल ले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको थियो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने राष्ट्रियसभाको बैठक सचिवालयस्थित कक्षमै बस्नेछ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश—मतदाता नामावली (पहिलो संशोधन), प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) र नेपाल विशेष सेवा (दोस्रो संशोधन)—पेस गर्ने कार्यसूची रहेको छ। बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन् भने प्रतिनिधिसभाको कार्य सञ्चालनका लागि अस्थायी रूपमा नियमावली, २०७९ लागू गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, सभामुखको निर्वाचनको मिति तोक्ने, दलीय आधारमा मन्तव्य राख्ने तथा पूर्वसदस्यहरूको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?