संघीय सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १९ गते ।  मधेश प्रदेश सभाका सदस्यहरूले संघीय सरकारले विकास र शान्ति सुरक्षाभन्दा व्यक्तिगत प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन्। प्रदेश सभा बैठकमा सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष अनुसन्धान नभई राजनीतिक प्रतिशोध साध्नु रहेको दाबी गरे। सांसद हरिनारायण यादवले बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले जेनजी आन्दोलनको नाममा गठन गरिएको छानबिन समितिलाई व्यक्तिगत प्रतिशोधको माध्यम बनाएको आरोप लगाए। उनले गौरीबहादुर कार्की नेतृत्वमा तयार प्रतिवेदनका आधारमा विभिन्न दलका नेतामाथि झुटा मुद्दा लगाएर जेल हाल्ने प्रयास भइरहेको दाबी गर्दै यसले देशको शान्ति सुरक्षामा असर पर्न सक्ने चेतावनी दिए।

यसैगरी सांसद सुरिता शाहले संघीय सरकार मधेसविरोधी रहेको आरोप लगाउँदै समावेशिताको अभावतर्फ ध्यानाकर्षण गराइन्। रामसरोज यादवले सरकार विदेशी प्रभावमा काम गरिरहेको आरोप लगाउँदै छानबिन समितिमार्फत पूर्वमन्त्री तथा नेतामाथि मुद्दा लगाउने तयारी भइरहेको बताए। यस्तै देवी शर्माले सरकार व्यक्तिगत दुश्मनीमा केन्द्रित भएको टिप्पणी गरिन्। अधिकांश सांसदहरूले गौरीबहादुर कार्की नेतृत्वमा छानबिन समिति गठन भएको उल्लेख गर्दै भदौ २३–२४ का घटनादेखि मन्त्रीहरूको घरमा भएको आगजनीसम्मका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?