बालेन्द्र शाह आज प्रधानमन्त्रीको शपथ लिँदै : ३६ वर्षीय बालेनको नेतृत्वमा रास्वपाको एकल सरकार
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १३ गते । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथ ग्रहण समारोह दिउँसो १२ः३४ बजेका लागि तय भएको हो। बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्।
प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गर्ने तयारी छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ। शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज र उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको हो। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। सो दलले बिहीबार मात्रै बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए। बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
कमेन्ट गर्नुहोस्
view comments