रामनवमी पर्व आज देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै : सरकारले दियो सार्वजनिक बिदा

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र १३ गते ।  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने रामनवमी पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। राम मन्दिरहरूमा पूजापाठ गरिन्छ भने जनकपुरस्थित रामजानकी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्याको जेठो छोरोको रूपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ। रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरूको संहार गरेको वाल्मीकि रामायणमा वर्णन छ। रामनवमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबैमा शुभकामना दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?