‘रंग मिथिला’ द्वारा काठमाडौंमा दुई दिने हेरिटेज तथा सांस्कृतिक महोत्सव आयोजना
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १२ गते । मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘रंग मिथिला’ संस्थाले काठमाडौंमा दुई दिने ‘रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभल’ आयोजना गर्ने भएको छ।
संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त महोत्सव आगामी चैत १५ र १६ गते (मार्च २९ र ३०, २०२६) मा नेपाल पुलिस क्लब, काठमाडौंमा सञ्चालन हुनेछ। महोत्सवमार्फत मिथिला संस्कृतिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, प्यानल छलफल, परम्परागत प्रदर्शनीलगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न कलाकार, विद्वान्, सांस्कृतिक व्यक्तित्व तथा संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रमले मिथिला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास आयोजकले लिएको छ।
महोत्सव संयोजक तथा रंग मिथिला संस्थाका अध्यक्ष संगम गुप्ताले उक्त कार्यक्रमले मिथिला कला र संस्कृतिलाई व्यापक रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले महोत्सव सफल बनाउन कला तथा संस्कृति प्रेमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सहभागी हुन आग्रह गरेका छन्।
महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुति, युवा अन्तरक्रिया, कविता वाचन, नृत्य प्रस्तुति तथा विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। साथै, ‘कुटुम्ब ब्यान्ड’ सहित विभिन्न कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।
आयोजकका अनुसार महोत्सवले मिथिला क्षेत्रको मौलिक संस्कार र संस्कृतिलाई उजागर गर्दै अन्तर्राष्ट्रिय रंगमञ्चसम्म पुर्याउने लक्ष्य लिएको छ।
कमेन्ट गर्नुहोस्
view comments