गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनौपचारिक रूपमा बाहिर : २३ गते १९ र २४ गते ७६ जनाको मृत्यु, ओलीसहित ७ जनालाई फौजदारी कारबाही सिफारिस
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १२ गते । भदौ २३–२४ को जेनजी प्रदर्शन तथा हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाइए पनि औपचारिक रूपमा सार्वजनिक नभएपछि अनौपचारिक रूपमा बाहिरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले उक्त प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय गरेकी छन्। प्रतिवेदनअनुसार भदौ २३ गतेको प्रदर्शनमा सरकारी बल प्रयोगबाट १९ जनाको मृत्यु भएको थियो भने २४ गते देशभर हिंसा, आगजनी र तोडफोडका क्रममा कुल ७६ जनाको ज्यान गएको छ। मृतकमध्ये ५१ जनाको गोली लागेर मृत्यु भएको उल्लेख छ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुबेर खापुङसहित सात जनालाई फौजदारी अभियोगमा कारबाही सिफारिस गरेको छ। उनीहरूमाथि लापरबाहीका कारण मानवीय क्षति बढेको निष्कर्ष निकाल्दै ३ देखि १० वर्षसम्म कैद सजायको सिफारिस गरिएको छ। प्रतिवेदनले विशेषगरी प्रधानमन्त्री ओलीले अभिभावकीय जिम्मेवारी निर्वाह गर्न नसकेको, समयमै निर्णय नगरेको र गोली चलेपछि पनि नियन्त्रणतर्फ पहल नगरेको भन्दै गम्भीर कमजोरी औंल्याएको छ। सुरक्षा निकायबीच समन्वय अभाव, कमजोर सूचना प्रणाली र पूर्वतयारीको कमी मुख्य कारण रहेको उल्लेख छ। भदौ २४ गतेका घटनामा भने ठोस प्रमाण अभाव देखाउँदै थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments