पटनामा चैती छठका क्रममा दुर्घटना, गंगामा डुबेर २ किशोरको मृत्यु
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र ११ गते । चैती छठ पर्वका क्रममा भारतको बिहार राज्यको राजधानी पटना सहरमा दुःखद घटना भएको छ। गंगा नदीमा नुहाउने क्रममा ६ जना किशोर डुबेका थिए, जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्। घटनापछि क्षेत्रमा शोकको माहोल छ भने मृतकका परिवारजनको रो–रोकर अवस्था नाजुक बनेको छ। जानकारीअनुसार दोस्रो अर्घ्य सम्पन्न भएपछि ती किशोरहरू पटना सिटीको दमराही घाटमा नुहाउन नदीमा पसेका थिए, तर तीव्र बहावका कारण नियन्त्रण गुमाएर डुबेका हुन्।
स्थानीयवासीले तत्काल उद्धार प्रयास गर्दै तीन जनालाई सकुशल बाहिर निकाले पनि अन्य तीन जनालाई बचाउन सकेनन्। मृत्यु हुनेमा १८ वर्षीय गणेश कुमार र १७ वर्षीय रोहित कुमार रहेका छन् भने १७ वर्षीय शिबू कुमार अझै बेपत्ता छन्। प्रहरीले दुवै मृतकको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि नालन्दा मेडिकल कलेज पठाएको छ। बेपत्ता किशोरको खोजीका लागि प्रहरी र एसडीआरएफ टोलीले गंगा नदीमा खोजी कार्य जारी राखेको छ।
कमेन्ट गर्नुहोस्
view comments