मिथिलाञ्चलमा चैते छठ पर्व सुरु : नहाय खायसँगै चार दिने कठोर व्रतको आरम्भ

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत ८ गते ।  मिथिलाञ्चलमा आइतबारदेखि चैते छठ पर्व सुरु भएको छ। विभिन्न विधिपूर्वक चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आइतबार व्रतीहरूले नहाय खाय अर्थात् नुहाएर खाने तथा जीउ चोख्याउने विधि अपनाएका छन्। दोस्रो दिन सोमबार व्रतीहरूले दिनभर निराहार उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन चोखो खानेकुरा खाने चलन छ। तेस्रो दिन मङ्गलबार षष्ठी तिथिमा व्रतीहरूले छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षत फूल हालेर अर्घ दिनेछन्। बुधबार बिहानै छठघाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिएर चैते छठ पर्वको समापन हुनेछ।

हिन्दुधर्मावलम्बीहरूले मनाउने पर्वहरूमध्ये सबैभन्दा कठोर मानिएको छठ पर्व मधेश प्रदेश, कोशी प्रदेशसहित मिथिला संस्कृति मान्ने सबै ठाउँमा मनाइँदै आएको छ। आराध्यदेव सूर्यदेवको उपासना गरी मनाइने यो पर्व पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेको छ। सूर्य पुराणअनुसार सर्वप्रथम श्रीमती अनुसुइयाले छठ व्रत गर्नुभएको थियो। फलस्वरूप उहाँले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको बताइन्छ। जनकपुरधाम, सिरहा, सप्तरी, धनुषालगायत मिथिलाञ्चलका विभिन्न घाटहरूमा भक्तजनहरूको भीड लागिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?