कांग्रेस सभापति गगन थापाको राजीनामा : निर्वाचन पराजयपछि नैतिक जिम्मेवारी लिँदै पद छाडे

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र ५ गते । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै थापाले राजीनामा दिए पनि पार्टीले यसलाई अहिलेसम्म सार्वजनिक गरेको छैन।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव तथा दबाब दिँदै आएका थिए। थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए। निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ। सभापति थापा आफैं सर्लाही–४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भएका थिए। सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याएका थिए। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने गरी आमनिर्वाचन समीक्षा गर्न लागिएको छ। थापाको नेतृत्वमा चयन भएको १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको वैधानिकतामाथि तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा अझै विचाराधीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?