खोटाङमा हेलिकप्टर दुर्घटना : अवतरणका क्रममा अनियन्त्रित, एक घाइते
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र ४ गते । खोटाङको केपीलासगढी गाउँपालिका–२ स्थित बालाबेसीमा डाइनेस्टिक एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। काठमाडौंबाट चालकसहित ६ जनाको टोली पारिवारिक भ्रमणका लागि खोटाङ जाँदै गर्दा हेलिकप्टर अचानक अनियन्त्रित भई जमिनमा खसेको स्थानीयवासीले बताएका छन्।
दुर्घटनामा चालक सबिन थापासहित ६ जना सवार थिए। तीमध्ये काजी बहादुर राई घाइते भएका छन्। हेलिकप्टर अवतरणकै बेला सन्तुलन गुमाएर खसेको प्रारम्भिक जानकारी छ। दुर्घटनापछि स्थानीयवासी तत्काल घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले घटनाको पुष्टि गर्दै प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताएका छन्। घाइतेको उपचारका लागि अर्को हेलिकप्टर काठमाडौंबाट आउँदै गरेको उनले जानकारी दिए। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो दुर्घटनाले हवाई यात्राको सुरक्षामा फेरि प्रश्न उठाएको छ। प्रहरी र स्थानीय प्रशासनले घाइतेको तत्काल उपचार र दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments