मध्यपूर्व तनावले नेपाली हवाई क्षेत्रलाई दैनिक २ करोड १० लाख घाटा : १६ उडान रद्द, ५ हजार यात्रु प्रभावित

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र ४ गते ।  मध्यपूर्वमा बढ्दै गएको इरान–इजरायल द्वन्द्वका कारण नेपाली हवाई क्षेत्रले ठूलो आर्थिक भार बेहोर्नुपरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले दैनिक करिब २ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गुमाइरहेका छन्। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यो घाटा हवाई इन्धन बिक्री बाहेकको भएको बताए। जहाज अवतरण, ग्राउण्ड ह्यान्डलिङ शुल्क लगायतबाट हुने आम्दानीमा उल्लेख्य कमी आएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान संख्या घट्दा दैनिक औसत १६ वटा उडान रद्द भइरहेका छन् र यसबाट दैनिक करिब ५ हजार यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।

सम्भावित दुर्घटनाबाट बच्न केही विमानले साविकको बाटो परिवर्तन गरी लामो दूरी तय गर्नुपरेको छ। पूर्वी गन्तव्य (हङकङ, मलेसिया, बंगलादेश, थाइल्याण्ड र चीन) तर्फ उडानको चाप बढेको छ। उडान रद्द वा समय परिवर्तन भएका यात्रुको टिकट रद्द, पैसा फिर्ता वा अर्को मिति मिलाउँदा थप दस्तुर नलिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिइएको छ। नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रभावित भएका छन्। निगमले दुबईका लागि दुई विशेष उडान गरेको छ भने हिमालय एयरलाइन्सको कुल आम्दानी ७० प्रतिशतले घटेको छ। प्राधिकरणले यात्रुहरूलाई असुविधा कम गर्न प्रयास गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?