इराकको अर्विलमा ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते : १५ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो

7 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र ३ गते । इराकको अर्विलस्थित संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन्। महावाणिज्य दूतावासमा कार्यरत १३ जना नेपाली सुरक्षागार्ड र दुई नेपाली महिला कर्मचारीसहित कुल १५ जना नेपाली रहेकोमा हमलापछि सबैलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। घाइते दुवै सुरक्षागार्डको उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

अर्विल अन्तर्राष्ट्रिय विमानस्थल आसपास पनि लगातार ड्रोन आक्रमण भएपछि त्यहाँ नजिकै रहेको अमेरिकी बेस क्याम्पमा कार्यरत १२० नेपालीलाई सुरक्षा सावधानीका लागि होटलमा सारिएको छ। विमानस्थलमा कार्यरत एक नेपालीले भने, “विमानस्थलभित्र थियौं, केही उडानहरू रद्द भइरहेका थिए। आकाशमा एक्कासि ड्रोनहरूले फन्को लगाउन थालेपछि टर्मिनलभित्र भागाभाग भयो।” अर्विलमा रहेका केही नेपाली श्रमिक परिस्थिति सामान्य भएपछि काममा फर्किने तयारीमा छन् भने केही स्वदेश फर्किने योजनामा छन्। अमेरिकी बेस क्याम्पमा कार्यरत डेढ सयभन्दा बढी नेपाली यसअघि नै नेपाल फर्किसकेको गैरआवासीय नेपाली संघ इराकले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इराकमा करिब ३० हजार नेपाली कार्यरत छन्। नेपाली दूतावासले उनीहरूको सुरक्षा र आवश्यक सहयोगका लागि सम्पर्कमा रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?