समानुपातिक सांसदलाई चैत ५ मा प्रमाणपत्र : निर्वाचन आयोगको तयारी पूरा
7 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र ३ गते । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार राजनीतिक दलहरूबाट प्राप्त उम्मेदवारको विवरण रुजु गरी निर्वाचित घोषणा गरिसकिएको छ र प्रमाणपत्र वितरणको सम्पूर्ण तयारी पूरा भएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय दलको मान्यता प्राप्त छ वटा दलले सिट प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट जितेका छन्। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ। प्रमाणपत्र वितरणपछि नयाँ सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments