डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यासको घोषणा : संघर्षको राजनीति जारी राख्ने

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २ गते ।  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार, पहिचान र सिद्धान्तका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘म संसदीय राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।’

२०७९ सालको निर्वाचनमा जनमत पार्टी राष्ट्रिय दल बनेको थियो। प्रत्यक्षमा राउत आफैंले सर्लाही–२ बाट जितेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड हटाएर थप पाँच सांसद प्राप्त गरेको थियो। तर २०८२ फागुन २१ को निर्वाचनमा पार्टीले एक सिट पनि जित्न सकेन। राउतले २०७९ मा पार्टी नेताहरूको आग्रहमा चुनाव लडेको र त्यसले पार्टी राष्ट्रिय स्तरमा स्थापित भएको दाबी गरेका छन्। यस्तै २०८२ मा पनि अन्तिम समयमा कार्यकर्ताको मनोबल नघटोस् भनेर उम्मेदवारी दिएको बताउँदै उनले परिणामपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस गरेको उल्लेख गरेका छन्। अब उनी संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट अलग नहुने बताउँदै आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनका लागि पार्टी तयारी गराउने र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?