रास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम प्रस्ताव गर्यो : ४८ महिला र ९ पुरुष
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने ५७ जनाको नामावली निर्वाचन आयोगमा प्रस्ताव गरेको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरुषको नाम टुङ्गो लगाएको हो। पार्टी प्रवक्ता मनिष झाले बैठकपछि यो जानकारी दिएका छन्।
प्रवक्ता झाका अनुसार विभिन्न क्लस्टरबाट नाम छनोट गरिएको छ। जसअनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम प्रस्ताव गरिएको छ। यी क्लस्टरबाट को–को परे भन्ने विवरण भने रास्वपाले अहिले खुलाएको छैन। निर्वाचन आयोगले प्रस्तावित नामावली रुजु गरी स्वीकृत गरेपछि मात्रै अन्तिम नाम सार्वजनिक हुने प्रवक्ता झाले बताएका छन्।
रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो। समानुपातिकतर्फको ५७ सिट थपिएपछि पार्टीको कुल सांसद संख्या १८२ पुग्ने देखिन्छ। यो नामावलीले पार्टीभित्र महिला तथा समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको सङ्केत गर्छ।
कमेन्ट गर्नुहोस्
view comments