मधेस प्रदेश मुख्यमन्त्रीको असन्तुष्टि : बिना प्रहरी प्रशासनको सरकार चलिरहेको छ, संविधानले दिएका अधिकार प्राप्त भएन
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र १ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। विश्वका कुनै पनि देशमा बिना प्रहरी प्रशासनको सरकार नभएको उल्लेख गर्दै उनले नेपालमा मात्र प्रदेश सरकारहरूले यस्तो नियति भोग्नुपरेको बताए। जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेशले प्राप्त नगरेको गुनासो गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरको तिरहुतिया गाछीमा ‘अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू’ भनेर दिएको अभिव्यक्तिको स्मरण गर्दै मुख्यमन्त्री यादवले प्रदेशले नमागीकन अधिकार दिन खोजेकोमा साहलाई धन्यवाद दिए।
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्त दयनीय रहेको बताए। माओवादी द्वन्द्वकालमा क्षति भएका भग्नावशेष भवनहरूमा नै प्रहरीहरू बस्न बाध्य रहेको उल्लेख गर्दै उनले यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारी साधनहरू जलाइएको र नष्ट गरिएको भन्दै त्यसको पूर्ति गर्नुपर्ने दायित्व पनि थपिएको उनको भनाइ छ। प्रदेश प्रहरीलाई सुसम्पन्न बनाउन प्रदेश सरकारको मात्र नभई संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको बताउँदै उनले सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिए। यसैगरी उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा निकायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
कमेन्ट गर्नुहोस्
view comments