नयाँ प्रणाली जडानका कारण राहदानी सेवा केही समय बन्द हुनसक्ने

10 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन २९ गते ।  राहदानी विभागले राहदानी (पासपोर्ट) वितरण सेवा केही समयका लागि अवरुद्ध हुनसक्ने जनाएको छ।

विभागका अनुसार पुरानो प्रणाली हटाएर नयाँ प्रणाली जडान गर्ने प्रक्रियामा रहेकाले सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने भन्दै सूचनामार्फत जानकारी गराइएको हो।

सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्ने उल्लेख गरिएको छ।

त्यस्तै राहदानी विभागबाट सिधै प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुनसक्ने जनाइएको छ।

नयाँ प्रणाली जडान र कार्यान्वयनपछि प्रणाली स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिए पनि राहदानी तयार भएर जारी हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने बताइएको छ।

आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई भने अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन विभागले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?