आजदेखि उपभोक्ताले आधा सिलिन्डर मात्र एलपी ग्यास पाउने
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन २९ गते । आजदेखि उपभोक्ताले आधा सिलिन्डर मात्र एलपी ग्यास पाउने भएका छन्।नेपाल आयल निगमले मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको विश्वव्यापी आपूर्तिमा अवरोध आएको भन्दै आजदेखि लागू हुने गरी एलपी ग्यास सिलिन्डरमा ७.१ किलो मात्र ग्यास भरी बिक्री वितरण गर्ने निर्णय गरेको छ। यसअघि सामान्यतया १४.२ किलो ग्यास भर्ने गरिन्थ्यो। नयाँ व्यवस्थाअनुसार प्रतिसिलिन्डर खुद्रा मूल्य ९५५ रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार पछिल्लो समय ग्यासको अभाव बढ्दै गएपछि आपूर्ति व्यवस्थापन गर्न यो कदम चालिएको हो। मध्यपूर्वको युद्धले कच्चा तेल तथा ग्यासको आयात प्रभावित भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्ति संकट देखिएको छ। नेपाल जस्ता आयातमुखी देशहरूमा यसको प्रत्यक्ष असर परेको छ।
यो निर्णयसँगै उपभोक्ताले अब एक पटकमा आधा मात्र ग्यास पाउने भएका छन्। निगमले यसलाई अस्थायी व्यवस्था बताए पनि कति समयसम्म यही अवस्था कायम रहने भन्ने स्पष्ट गरेको छैन। ग्यास अभावले विशेषगरी होटल, रेस्टुरेन्ट तथा घरेलु उपभोक्तालाई समस्या थपिने देखिएको छ।
निगमले उपभोक्तालाई धैर्य गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा स्थिति सामान्य भएपछि पूर्ण सिलिन्डर वितरण फेरि सुरु गरिने जनाएको छ। यसबीचमा कालोबजारी तथा मूल्यवृद्धि रोक्न बजार अनुगमनलाई तीव्र बनाइने पनि बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments