केपी शर्मा ओलीलाई पितृशोक : बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन
10 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन २९ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिइन्।
केही दिनयता स्वास्थ्य समस्या देखिएका मोहनप्रसादलाई गएराति अप्ठ्यारो महसुस भएपछि गठ्ठाघरस्थित कोरियन अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। मोहनप्रसाद पछिल्लो समय गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए।
उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लगिने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको स्रोतले बताएको छ। मोहनप्रसाद ओली झापा जिल्लाको निवासी थिए। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा उनको झापास्थित घरमा आगजनी भएको थियो। त्यसपछि उनी झापा फर्किएका थिएनन् र काठमाडौंमै बस्दै आएका थिए। त्यसअघिसम्म उनी नियमित रूपमा झापा आउजाउ गर्थे।
एमालेका विभिन्न नेताहरू तथा शुभचिन्तकहरूले ओली परिवारलाई समवेदना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले बुवाको निधनपछि भावुक हुँदै परिवारजनसँगै शोकमा डुबेका छन्। मोहनप्रसाद ओलीको अन्तिम संस्कारमा पार्टीका शीर्ष नेताहरू तथा हजारौं शुभचिन्तकहरू सहभागी हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments