नयाँ प्रतिनिधिसभामा ६ दल राष्ट्रिय दल बन्ने संकेत
9 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन २६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रको परिणाम घोषणा गरिसकेको छ। समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फको परिणाम र समानुपातिक मतको अनुपातका आधारमा नयाँ प्रतिनिधिसभामा दलहरूको अवस्था कस्तो रहने भन्ने संकेत स्पष्ट भइसकेको छ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सीट जित्दै पहिलो स्थान हासिल गरेको छ भने समानुपातिकमा पनि ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सीट जितेको छ र समानुपातिकमा पनि १७ लाखभन्दा बढी मत ल्याएको छ। त्यस्तै नेकपा एमालेले प्रत्यक्षतर्फ ९ सीट जित्दै तेस्रो स्थान हासिल गरेको छ भने समानुपातिकमा १४ लाखभन्दा बढी मत प्राप्त गरेको छ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी, श्रमशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने देखिएकाले यी ६ दलले राष्ट्रिय दलको मान्यता पाउने संकेत देखिएको छ।
विगतमा राष्ट्रिय दल रहेका जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले भने यसपटक प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन् भने समानुपातिकमा पनि थ्रेसहोल्ड पार गर्ने सम्भावना समाप्त भएको छ।
कानुनी व्यवस्थाअनुसार राष्ट्रिय दलले अर्को निर्वाचनसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित राख्न पाउने सुविधा हुन्छ। तर राष्ट्रिय दल नभए पनि दुईभन्दा बढी सांसद भएका दललाई संसदीय दलको कार्यालयलगायतका सुविधा उपलब्ध गराउने अभ्यास रहेको छ। साथै राष्ट्रिय दल नभए पनि पार्टीले आफ्ना सांसदहरूलाई संसदीय दलमार्फत ह्विप लगाउन सक्ने व्यवस्था छ।
कमेन्ट गर्नुहोस्
view comments