प्रतिनिधिसभा निर्वाचन २०८२ : १४ महिला निर्वाचित, रास्वपाबाट १३ जना विजयी

9 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ १४ जना महिला निर्वाचित भएका छन्। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १३ जना र नेपाली कांग्रेसबाट १ जना महिला विजयी भएका हुन्। देशभर विभिन्न दल तथा स्वतन्त्रबाट कुल ३३८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार खडा गरेको थियो भने एमालेले १० र नेकपाले ११ महिला उम्मेदवार उठाएको थियो।

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर झापा–२ बाट ६० हजार ११० मतसहित सबैभन्दा बढी मत ल्याएर विजयी भइन्। चितवन–३ बाट सोबिता गौतमले ५९ हजार २७७ मत प्राप्त गरिन्। अन्य विजयी रास्वपा नेतृहरूमा झापा–१ की निशा डाँगी (४५ हजार ६८० मत), सर्लाही–१ की नीतिमा भण्डारी कार्की (४४ हजार १८१ मत), ललितपुर–३ की डा. तोसिमा कार्की (४३ हजार ९६ मत), धादिङ–१ की आशिका तामाङ (३९ हजार १२८ मत), सप्तरी–१ की पुष्पाकुमारी चौधरी (३८ हजार १९५ मत), कास्की–३ की बिना गुरुङ (३७ हजार ७५० मत) रहेका छन्। मोरङ–६ बाट रुबिना आचार्यले ५५ हजार ५१३ मतसहित जित हासिल गरिन्।

रास्वपाबाट आशा झा मोरङ–५ (३० हजार ४३४ मत), गौरीकुमारी महोत्तरी–४ (३० हजार १३२ मत), कोमल ज्ञवाली कैलाली–१ (१७ हजार ८२६ मत) र रञ्जु दर्शना न्यौपाने काठमाडौं–१ (१५ हजार ४५५ मत) बाट निर्वाचित भएकी छन्। गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा रास्वपाबाट प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार बिना गुरुङ नै विजयी भइन्। नेपाली कांग्रेसबाट दैलेख–१ बाट बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भइन्, जसमा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७६९ मत प्राप्त गरेका थिए।

नेपालको निर्वाचन इतिहासमा महिलाको उपस्थिति कहिले बढ्दै त कहिले घट्दै आएको छ। २०१५ सालको पहिलो आमनिर्वाचनमा ७ उम्मेदवारमध्ये १ जना मात्र निर्वाचित भएकी थिइन्। २०४८ मा ८, २०५१ मध्यावधिमा ७, २०५६ मा १२ जना महिला प्रत्यक्ष निर्वाचित भएका थिए। सबैभन्दा बढी २०६४ को पहिलो संविधानसभामा ३० जना, २०७० को दोस्रो संविधानसभामा १० जना, २०७४ मा ६ जना र २०७९ मा ९ जना महिला प्रत्यक्षतर्फ विजयी भएका थिए। यसपालि ३३८ उम्मेदवारमध्ये १४ जना मात्र निर्वाचित हुनुले प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व अझै चुनौतीपूर्ण रहेको देखाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?