नेकपाका उम्मेदवार विजयी भए पनि प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगको निर्णयप्रति आपत्ति
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन २५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा निर्वाचन क्षेत्र नं. १ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको दाबी गर्दै पनि निर्वाचन कार्यालयले प्रमाणपत्र वितरण नगरेकोमा गम्भीर आपत्ति जनाएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले जारी गरेको विज्ञप्तिमा निर्वाचन प्रक्रिया र स्थापित कानुनी प्रावधानविपरीत काम भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिअनुसार निर्वाचन आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनका आधारमा सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको थियो। सो मतगणनाबाट नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव स्पष्ट रूपमा विजयी भएको पार्टीको दाबी छ। तर, निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गर्न ढिलाइ गरेको र प्रक्रियालाई प्रभावित पार्ने कार्य भएको नेकपाले आरोप लगाएको छ।
यसबीच निर्वाचन आयोगले धनुषा क्षेत्र नं. १ को परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्णय भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको आदेश नआएसम्म मत परिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको छ। आयोगले कमल निर्माण सेवा प्रालिका शेयरधनीसमेत रहेका किशोरी साह विभिन्न मितिमा चेक बाउन्स भएर कालोसूचीमा परेको प्रमाण फेला परेपछि फागुन १८ गते उम्मेदवारी खारेज गरेको थियो।
नेकपाले यो अवस्थालाई निर्वाचन प्रक्रियामाथिको हस्तक्षेपको रूपमा लिएको छ। पार्टीले विजयी उम्मेदवारलाई यथाशीघ्र निर्वाचित प्रमाणपत्र उपलब्ध गराउन तथा निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गतिविधि तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेको छ। यो घटनाले धनुषा–१ को निर्वाचन परिणाम र प्रमाणीकरण प्रक्रियामा थप जटिलता थपेको छ।
कमेन्ट गर्नुहोस्
view comments