निर्वाचन हारपछि आजपा र एमालेका दुई जिम्मेवार नेताको राजीनामा

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २५ गते ।  रौतहट जिल्लाका संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि आम जनता पार्टी (आजपा) र नेकपा एमालेका दुई प्रमुख नेताले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। आजपाका केन्द्रीय कार्यकारी सदस्य तथा उप–महासचिव सुधीर यादव र एमाले मधेस प्रदेश कमिटी सदस्य शेख एकरामुलले आइतबार बेलुकी छुट्टाछुट्टै वक्तव्य जारी गर्दै राजीनामा घोषणा गरेका हुन्।

सुधीर यादवले झण्डै २५ वर्ष लामो राजनीतिक यात्रा समाप्त गर्दै पार्टीबाट पूर्ण रूपमा अलग हुने निर्णय गरेको बताएका छन्। उनले पार्टी अध्यक्ष प्रभु साहको एकलौटी निर्णय प्रक्रिया, कार्यशैली र रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमलालाई आवश्यक सहयोग तथा समय नदिएकोमा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। यादवले पार्टीभित्रकै केही व्यक्तिहरूले आफ्ना मान्छे प्रयोग गरी उम्मेदवारलाई पराजित गराउने प्रयास गरेको आरोपसमेत लगाएका छन्। उनले आजैको मितिबाट पार्टीको साधारण सदस्यता र सबै जिम्मेवारीबाट अलग हुने जानकारी दिएका छन्। यादव हाल क्षेत्र नम्बर ४ अन्तर्गत चन्द्रपुरमा बसोबास गर्दै आएका छन्।

यसैगरी, रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत गुजरा नगरपालिकाका मेयर उम्मेदवारसमेत रहेका शेख एकरामुलले पनि एमालेको साधारण सदस्यता त्याग्ने घोषणा गरेका छन्। उनले भने राजीनामाको ठोस कारण खुलाएका छैनन्। गत निर्वाचनमा अपेक्षित परिणाम नआएपछि एमाले र आजपाका केही नेता तथा कार्यकर्तामा रुष्टता बढेको देखिएको छ।

यी राजीनामाले दुवै पार्टीभित्र आन्तरिक असन्तुष्टि र निर्वाचन परिणामप्रतिको असन्तुष्टिलाई उजागर गरेको छ। विशेषगरी आजपामा नेतृत्वको कार्यशैलीप्रति बढ्दो असन्तुष्टिले पार्टीको एकता र भविष्यमा प्रभाव पार्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?