सर्लाहीमा राजेन्द्र महतोसहित धेरै उम्मेदवारको जमानत जफत

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन २४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजेन्द्र महतो सहित विभिन्न दलका धेरै उम्मेदवारको जमानत जफत भएको छ। कानुनी व्यवस्थाअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको जमानत रकम जफत हुने व्यवस्था छ, र उक्त रकम राज्यकोषमा जाने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतो सर्लाही–२ बाट उम्मेदवार रहँदा आवश्यक मत ल्याउन नसक्दा जमानत जोगाउन असफल हुनुभयो। यस क्षेत्रमा ७७ हजार ७८९ मत खसेकोमध्ये ७२ हजार ३८१ मत सदर भएको थियो। जमानत जोगाउन ७ हजार २३९ मत आवश्यक भए पनि महतोले ५ हजार ९९२ मत मात्र प्राप्त गर्नुभयो।

यस्तै सर्लाही–१ मा शम्भुलाल श्रेष्ठ बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा मनोजकुमार देवकोटा, प्रमोद साह र रामप्रकाश चौधरीको जमानत जफत भएको हो। सर्लाही–३ मा भने नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत ल्याएर जमानत जोगाउन सफल हुनुभयो। त्यस्तै सर्लाही–४ मा गगनकुमार थापा र अमनिसकुमार यादवले मात्र जमानत जोगाएका छन्, भने अन्य उम्मेदवारको जमानत जफत भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?