आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा जसपा नेपालद्वारा १५ नेता निष्कासित

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन १२ गते ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि कारबाही गरिएको पार्टीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

निष्कासनमा परेकामध्ये जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२ का अध्यक्ष कुशेश्वर सिंह रहेका छन्। यस्तै, गौशाला नगरपालिका–२ का कुमरकान्त मिश्र, वडा नं. १० का शेष जाली, वडा नं. ४ की सविता कुमारी देवी, मटिहानी नगरपालिका–५ का रामनन्दन यादव, मटिहानी–३ का मोजिम राइन, जलेश्वर–२ का संतोष साह, पिपरा–५ का रामप्रकाश यादव र शम्भु यादव, पिपरा–१ का राहुल पाण्डेय, एकडारा–३ का श्याम यादव तथा एकडारा–५ का हरिनारायण मण्डल पनि निष्कासनमा परेका छन्।

विज्ञप्तिअनुसार श्याम यादव र हरिनारायण मण्डललाई पार्टी केन्द्रीय समितिबाट तथा वन्दना पाण्डेयलाई प्रदेश समितिबाट समेत निष्कासनका लागि सिफारिस गरिएको छ। पार्टीका जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टी अनुशासन, विधान र संगठनात्मक हितलाई ध्यानमा राख्दै आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिइएको उल्लेख छ।

यसैबीच, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका संरक्षक तथा राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको बताइएको छ। सोही असन्तुष्टिका बीच हरिनारायण यादवले बागी उम्मेदवारी दर्ता गराएको जानकारी समेत सार्वजनिक गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?