रास्वपा मकवानपुर सभापति भरत पराजुली कांग्रेस प्रवेश, ३० वर्षपछि पुरानै घर फर्किए

16 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन ११ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ३० वर्ष लामो राजनीतिक यात्रापछि पुरानै घर कांग्रेस फर्किएका पराजुलीले रास्वपा नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाउँदै सामाजिक सञ्जालमार्फत पार्टी छाड्ने घोषणा गरेका हुन्।

रास्वपा मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरे। कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा आयोजित कार्यक्रममा उनलाई पार्टीमा स्वागत गरेका थिए। पराजुलीसहित रास्वपा मकवानपुरका केही नेता–कार्यकर्ता पनि आइतबार राति नै सर्लाही पुगेका थिए।

सामाजिक सञ्जालमा लेख्दै पराजुलीले भनेका छन्, ‘समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो। हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो।’ उनले सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले आफूलाई निराश बनाएको बताएका छन्।

मनहरी गाउँपालिका घर भएका पराजुली यसअघि नेपाली कांग्रेसबाटै राजनीति गर्दै आएका थिए। पछिल्लो समय रास्वपामा सक्रिय रहेका उनले अब कांग्रेसबाटै सक्रियता जारी राख्ने संकेत दिएका छन्। यो घटनाले रास्वपामा आन्तरिक असन्तुष्टि बढ्दै गएको संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?