धादिङमा बस त्रिशूली नदीमा खस्दा १८ को मृत्यु, २५ घाइते
17 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन ११ गते । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा घाइते भएका एक पुरुषको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो। काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार ३२ वर्षीय उक्त पुरुषको पहिचान अझै खुलेको छैन।
बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा नजिकै पृथ्वी राजमार्गको चाइनाधारा क्षेत्रबाट बस सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने बसमा कुल ४५ जना सवार थिए। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार २५ जना घाइते भएका छन्। तीमध्ये २३ जनालाई काठमाडौं ल्याइएकोमा १० जना नेसनल अस्पताल कलंकी र १३ जना ट्रमा सेन्टरमा उपचाररत छन्। बाँकी घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ग २ ख १४२१ नम्बरको उक्त बस आइतबार साँझ ७ बजे पोखराबाट छुटेको थियो। मृतकहरूको पूर्ण पहिचान अझै भइसकेको छैन, तर केही स्रोतका अनुसार मृतकमध्ये दुई जना विदेशी नागरिक पनि छन्। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी संलग्न थिए। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments