सर्लाही–४ मा दल परिवर्तनको लहर, पूर्व नगरप्रमुख अभयकुमार सिंह कांग्रेस प्रवेश
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन १० गते ।सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत बलरा नगरपालिकाका पूर्व नगरप्रमुख अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। शुक्रबार राति बलरामै आयोजित कार्यक्रममा गगनकुमार थापा ले उहाँसहित विभिन्न नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नगरप्रमुख निर्वाचित सिंह २०७९ मा पनि सोही पदका प्रत्यासी हुनुहुन्थ्यो। लोसपाका प्रभावशाली स्थानीय नेताका रूपमा चिनिनुहुने सिंह आफ्ना समर्थकसहित कांग्रेसमा प्रवेश गरेको जानकारी नेपाली कांग्रेस सर्लाही का पूर्व सभापति सुरेन्द्रप्रसाद सिंहले दिनुभयो।
यसअघि पनि लोसपाका वरिष्ठ उपाध्यक्ष हरिनन्दन चौधरी र महासचिव मनिष मिश्र लगायतका नेताहरू कांग्रेस प्रवेश गरिसकेका छन्। यता क्षेत्र नं. ४ मा अन्य दल परिवर्तन पनि तीव्र बनेको छ । संविधानसभा सदस्य शिवपुजन राय यादव ले नेकपा एमाले प्रवेश गरी आफ्ना छोरा अमनिसकुमार यादवलाई उम्मेदवार बनाएका छन् भने निवर्तमान सांसद डा. अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ। लगातारको दल परिवर्तनले सर्लाही–४ को चुनावी समीकरण थप रोचक बनेको छ।
कमेन्ट गर्नुहोस्
view comments