काठमाडौँको वायु गुणस्तर ‘अस्वस्थ’ स्तरमा, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
16 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन ८ गते । राजधानी काठमाडौँमा वायु प्रदूषण खतरनाक रूपमा बढ्दै गएको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था IQAirका अनुसार शुक्रबार बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) १८२ पुगेको छ, जसले हावाको अवस्था ‘अस्वस्थ’ श्रेणीमा पुगेको संकेत गरेको छ।
एयर क्वालिटी सूचकांकअनुसार ०–५० लाई राम्रो, ५१–१०० लाई मध्यम र १५१ भन्दा माथिको स्तरलाई स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ। हालको अवस्थाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी असर पार्न सक्ने विज्ञहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डसँग तुलना गर्दा काठमाडौँको हावामा पीएम२.५ कणको मात्रा करिब १६.५ गुणा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ। उपत्यकाका त्रिपुरेश्वर, बालकोट, कोटेश्वर र कुमारीपाटी क्षेत्रमा सबैभन्दा बढी प्रदूषण मापन गरिएको जनाइएको छ।
प्रदूषण बढेसँगै चिकित्सकहरूले बिहानको समयमा मोर्निङ वाक वा बाहिरी व्यायाम नगर्न, घरका झ्यालढोका सकेसम्म बन्द राख्न, एयर प्युरिफायर प्रयोग गर्न तथा अत्यावश्यक काममा बाहिर निस्कँदा मास्क प्रयोग गर्न सुझाव दिएका छन्।
यसैबीच, विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा लाहोर पहिलो स्थानमा रहेको उल्लेख गरिएको छ। विज्ञहरूले दीर्घकालीन रूपमा सवारी साधनको धुवाँ नियन्त्रण, निर्माणजन्य धुलो व्यवस्थापन र हरियाली विस्तारलाई प्रदूषण नियन्त्रणको मुख्य उपायका रूपमा औंल्याएका छन्।
कमेन्ट गर्नुहोस्
view comments