प्रदेश प्रमुख कर्णको शुभकामना : लोकतन्त्र सुदृढ गर्न साझा प्रतिबद्धता आवश्यक
15 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, फाल्गुन ७ गते । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउन आह्वान गरेका छन्। उनले २००७ सालको क्रान्तिले जहानियाँ शासन अन्त्य गरी आधुनिक नेपालको जग बसालेको स्मरण गर्दै प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। सात दशकअघिको त्यही जगमा उभिएर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको उचाइसम्म आइपुगेको उल्लेख गर्दै उनले मधेसलाई बलिदानी भूमिको रूपमा चित्रण गर्दै यो क्षेत्र सधैँ न्याय, समानता र पहिचानका पक्षमा अग्रपङ्क्तिमा उभिँदै आएको स्मरण गराए। प्रदेशको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई जोगाउँदै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन उनले सबैमा आग्रह गरे।
प्रदेश प्रमुख कर्णले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै आगामी निर्वाचनमा विवेकपूर्ण र सक्रिय सहभागिता जनाउन आम नागरिकलाई अनुरोध गरे। उनले लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वको इमान्दारीपूर्वक पालना गर्दा मात्रै व्यवस्था थप बलियो हुने विश्वास व्यक्त गरे। प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई थप मजबुत बनाउने अपेक्षा उनले व्यक्त गरे।
कमेन्ट गर्नुहोस्
view comments