स्वच्छ र शान्तिपूर्ण निर्वाचनका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

17 घन्टा पहिले प्रकाशित

काठमाडौं, फाल्गुन ७ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको बताउनुभएको छ। प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै २०१५ साल फागुन ७ गतेबाट सुरु भएको संसदीय अभ्यासले लोकतन्त्रलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न हुने सुनिश्चित भएको उहाँको दाबी छ।

प्रधानमन्त्री कार्कीले चुनावमार्फत गठन हुने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी तथा जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँको आग्रह थियो। साथै, स्वच्छ निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व सुदृढ गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उहाँले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?