मधेस प्रदेश सरकारले मैथिली भाषा र साहित्यको विकासमा थप लगानी गर्ने: मुख्यमन्त्री कृष्णप्रसाद यादव

17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, फाल्गुन ६ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासका लागि आगामी दिनमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ को मंगलबार जनकपुरधाममा उद्घाटन गर्दै उनले मैथिली भाषालाई कामकाजी भाषा बनाउने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री यादवले भने, “मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस्ता महोत्सवहरू निकै महत्वपूर्ण छन्। सरकारले यस क्षेत्रमा थप लगानी गरेर मैथिलीलाई कार्यालयीय तथा दैनिक जीवनको भाषा बनाउने प्रयास गर्नेछ।”

मैथिली विकास कोषको आयोजना तथा मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र राजर्षिजनक विश्वविद्यालयको सह–आयोजनामा सुरु भएको यो चार दिवसीय अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृति, आर्थिक तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विद्वान, विदुषी तथा कलाकारहरूको सहभागिता रहेको छ।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले यस्ता महोत्सवले मैथिली भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उपमहानगरपालिकाले मैथिली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पट्टेल, प्रदेश सभासदस्य रामसरोज यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल लगायतले धारणा राखेका थिए। यो महोत्सवले मधेस प्रदेशमा मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?